काठमाडौः ‘आफ्नो रोजाइको तरकारी घरमै बसेर खान पाइन्छ भने काठमाडौंको यो भीडमा धुलोले भरिएको तरकारी किन्न को बजारमा जान्छ ? त्यो पनि अर्गानिक तरकारी उपलब्ध हुँदाहुँदै’, माकलबारी जोरपाटी निवासी इनु श्रेष्ठ भन्छिन् ।

उनलाई ग्रिनग्रोथ अनलाइनबाट आएको तरकारी गाउँमा आफैंले उब्जाएर ल्याएको जस्तो लाग्छ । ग्रिनग्रोथ अनलाइनको नियमित ग्राहक श्रेष्ठले हरेक सोमबार बिहानै डालोमा राखेर ल्याएको तरकारी खाँदै आएकी छन् । ग्रिनग्रोथसँग उनीजस्ता एक सय ४५ जना ग्राहक छन् । उनीहरूले अनलाइनबाट तरकारी, चामल, दाल, फलफूलका साथै विभिन्न अर्गानिक खाद्य सामग्री झिकाएर खाँदै आएका छन् ।
विभिन्न स्थानमा रहेका अर्गानिक तरकारी उत्पादन गर्ने कृषि फर्मसँगको सहकार्यमा ग्रिनग्रोथले अनलाइनमार्फत तरकारी बेचिरहेको छ । जुम्लाको रातो चामल, मुस्ताङको स्याउ, इलामको चिया अनि सिन्धुलीका ताजा जुनारसुन्तला खान चाहने ग्राहकका लागि त ग्रिनग्रोथ अवसर नै बनेको छ ।
जुम्लामा आफ्नो व्यापारलाई इन्टरनेट तथा गुगल म्यापमा कसरी राख्न सकिन्छ भनी तालिम दिने क्रममा पुगेका सौरभ ढकालमाथि त्यहाँका बासिन्दाले उठाएको प्रश्नले जन्मिएको यो व्यवसायले ठूलो बजार लिएको छ । दैनिक पाँचदेखि १० जनाको हाराहारीमा उपभोक्ताले ग्रिनग्रोथमा तरकारी लिन अर्डर गर्ने गर्छन् ।
तर फार्मको कमी र आवश्यक मात्रामा तरकारी उपलब्ध नहुँदा सबैलाई समेट्न नसकिएको ग्रिनग्रोथ अनलाइनका क्युरेटर सौरभ ढकाल बताउँछन् । उनका अनुसार जुम्लाबासीले तालिमका क्रममा त्यहाँ उत्पादित चामलको बजार खोजिदिनुपर्यो भनेका थिए । तर उनले सोचेका थिएनन् कि एक्कासि उनका अगाडि चामलका बोरा आइपुइछन् भनेर ।
तर भयो त्यस्तै । काठमाडौंमा एक्कासि आएका चामलका बोरालाई कसरी बेच्ने भनेर पहिलोपटक आफ्नो फेसबुक तथा ट्विटरमा फोटो खिचेर रातो चामलको प्रचार गरेका थिए । अनलाइनमा राखेको फोटाको माध्यमले तुरुन्तै चामल बिकेपछि उनलाई अनलाइन व्यापारको सोचाइ आएको थियो ।
त्यो सोचाइले बिस्तारै अर्गानिक तरकारी, फलफूल, चामल, दालका साथै लोकल वाइन पनि भित्र्याएको छ । हरेक साता सोमबार, बुधबार र शनिबार डालोमा तरकारी हालेर ग्रिनग्रोथले ग्राहकको घरघरमा आवश्यक खाद्यान्न पुर्याउँदै आएको छ ।
ग्राहकको रोजाइमा तरकारी, फलफूल डालोमा हालेर घरघरमै पुर्याइन्छ । काभ्रेको पातले गाउँ अर्गानिक फार्म, जुम्लाको सिन्जा भ्याली गु्रप, सिन्धुलीको हिमालयन अर्गानिक फार्म, इलामको माङ्लुङ टी स्टेट, मुस्ताङको एप्पल फार्म र महोत्तरीको लक्ष्मनिया अर्गानिक फार्मसँगको सहकार्यमा अहिले अनलाइन व्यापार भइरहेको छ ।
पूर्ण रूपमा अर्गानिक नभए पनि यी सामानमा विषादी प्रयोग भने नहुने ढकाल बताउँछन् । उनका अनुसार अहिले काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर एक सय ४५ जना दैनिक ग्राहक छन् । हरेक महिना १० जनाका दरले नयाँ ग्राहक थपिने क्रम यथावत् छ ।
त्यसमा कोही ग्राहकले साताको तीनै दिन तरकारी मगाउँछन् भने कोहीले दुई दिन त कोहीले एक दिनमात्र । त्यसको हिसाबले अहिले सातामा दुई लाख १७ हजारको हाराहारीमा कारोबार हुने गरेको छ । सानो प्रयासबाट सुरु भएको यो व्यवसाय अहिले तरकारी फार्मका लागि उत्पादन बेच्ने राम्रो प्लेटफर्म भएको छ भने यसबाट १० जनाले रोजगारी पाएका छन् ।
ग्रिनग्रोथले अहिले दुईवटा वाइक तथा भ्यानमा तरकारी राखेर घरघरै पुर्याउँछ । सामान पुर्याउनुभन्दा एक दिनअघि सम्पर्क गरेर ग्राहकको रोजाइमा तरकारी लैजाने गरिएको छ । केके खाने भनि सोधिन्छ । उनीहरूको अर्डलाई इन्टरनेटमार्फत फार्मसम्म पुर्याउने व्यवस्था गरिएको छ ।
फार्म धनीले त्यो सूची हेरी तरकारी टिपेर काठमाडौं पठाउँछन् । त्यसलाई डालोमा हालेर ग्राहकमाझ पुर्याउने गरेको ढकाल बताउँछन् । उनका अनुसार सामान्यतया एकपटकमा पाँच सयको तरकारी पठाइन्छ । ग्राहकले आज काँक्रोमात्र खान्छु भन्दा काँक्रोमात्र पनि पुर्याउने व्यवस्था छ ।
यहाँको तरकारीको मूल्य सामान्यभन्दा महँगो छ तर ग्राहक यसमा खुसी छन् । अनलाइनमा किनेको तरकारी सामान्य बजारमा किनेको भन्दा केही महँगो भए पनि ताजा र अर्गानिक भएकाले पैसा खर्च गर्न कुनै समस्या नहुने इनु श्रेष्ठ बताउँछिन् ।
२२ मङि्सर २०७३ १२:५९
Source : Annapurnapost