जुनारको सलाद, आइसक्रिम, केक, चिसो–तातो जुस आदि परिकार बनाएर ग्राहक आकर्षित गरिँदै
काठमाडौँ — जुनार टिप्ने बेला भएपछि सिन्धुलीस्थित चिसापानीका जुनार किसान योगेन्द्र थापाको बगैंचामै ग्राहक पुग्थे । ४ सय बोटमा फलेका जुनार उनले दानादानै गनेर बेच्थे । १५ वर्षदेखिको व्यावसायिक जुनार खेती गरिरहेका उनलाई दाना छोडाएर, जुस बनाएर वा साँधेर खाएको थाहा थियो । काठमाडौंमा आयोजित जुनार मेलामा उनीसामु जब आफ्नै बगैंचामा फलेको जुनारको केक आइपुग्यो, थापा अचम्ममा परे ।

‘जुनारको पनि केक ! चकित परेको थिएँ,’ उनले भने, ‘जब स्वाद लिएँ, जुनारलाई यसरी अनेक परिकार पनि बनाएर ग्राहकलाई आकर्षण गर्न सकिने रहेछ भन्ने महसुस भयो ।’
थापा मात्र होइन, सिन्धुलीको तीनकन्याकी किसान देवीकुमारी ठकुरीलाई पनि जुनारको नौलो र फराकिलो दायराबारे थाहा भयो । ‘परिकारअनुसारको स्वादले ग्राहक तान्ने रहेछ, हामीले पनि बजार पाउने भयौं,’ उनले भनिन् ।
बजारमा फलफूल पारखीहरूका लागि ‘सिन्धुलीको जुनार’ ले छुट्टै पहिचान बनाएको छ । खासगरी जुनारलाई साँधेर वा जुस बनाएर खाने चलन छ । ग्राहकमा यसखाले बानी फेर्न अनि नयाँ तथा फरक स्वाद र शैली प्रदान गर्न पछिल्लो समय जुनारका विविध परिकार पस्कन थालिएको हो । यसका लागि जुनार सुपरजोन परियोजना कार्यान्वयन शाखा सिन्धुली, चिसापानी जुनार उत्पादन सहकारी र स्टोरी साइकलको सहकार्यमा ललितपुरको कुपन्डोलमा ‘सिन्धुली जुनार मेला’ आयोजना गरियो । माघ १३ देखि १५ सम्म कुपन्डोलको रैथाने क्याफेमा चलेको मेलामा जुनारको सलाद, आइसक्रिम, केक, उवाँको रक्सीमा जुनार, चिसो/तातो जुस, तातो जुनार जुसमा रमको परिकार आदिको स्वाद पस्किएको थियो । जुनारका यी परिकारलाई क्याफेले निरन्तरता दिने बताइएको छ ।
‘धेरैलाई जुनारका अरू परिकार बनाउन सकिन्छ भन्ने थाहा छैन, त्यो थाहा दिँदै सिन्धुलीको जुनारलाई बढीभन्दा बढी बजारमा पुर्याउन अभियान थालेका हौं,’ स्थानीय फलफूल तथा तरकारी बाली प्रवर्द्धन तथा बिक्रीवितरणमा सक्रिय संस्था ग्रिन ग्रोथ नेपालका प्रमुख सौरभ ढकालले भने ।
नेपालमा सिन्धुली, रामेछाप, धनकुटा, ओखलढुंगा, बैतडी, डोटी, डडेलधुरा, लमजुङ, पाल्पा, रुकुमलगायत जिल्लामा जुनार खेती हुँदै आएको छ ।