Categories
Media Coverage
अर्गानिक तरकारी बजार

उपभोक्ताहरु सचेत हुंदै गर्दा बजारमा अर्गानिक तरकारी र फलफूलको माग दिनानुदिन बढ्ने क्रममा रहेको त्यसका उत्पादक र विक्रेताले बताएका छन्।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको उक्त व्यवसायले आफूहरुलाई सन्तुष्टिमात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत प्रशस्त संभावनाको ढोका खोलिदिएको उनीहरुको भनाइ छ।

आकर्षण

भारतभर सिक्किम राज्यको तरकारी उत्पादन अहिले निकै चर्चामा छ किनभने त्यहाँ सम्पूर्ण रुपमा अर्गानिक खेती गरिने बताइएको छ।

केही वर्ष यता अर्गानिक उत्पादन प्रतिका आकर्षण नेपालका शहरबजारमा पनि उत्तिकै फैलिएको छ।

झन्झटिलो उत्पादन प्रणाली र विषादी प्रयोग गरि उब्जाईएका तरकारी र फलफूलभन्दा जैविक मलको प्रयोग गरिएका उत्पादन तुलनात्मक रुपमा महङ्गो भएपनि तिनको माग अत्यधिक बढेको कृषक तथा विक्रेताको भनाइ छ।

स्वास्थ्यप्रति संवेदनशील शहरी क्षेत्रका मानिसहरु आफ्ना प्रमुख ग्राहक रहेको आशापुरी अर्गानिक प्रालिका संयोजक प्रेम लामा बताउँछन्।

आफ्नै प्रतिकूल स्वास्थ्यमा सुधार ल्याउन सन् २००९ यता तरकारी तथा फलफूल खेतीमा होमिएका लामाले बजारमा माग बढेकोले हाल काठमाण्डू आसपास र तराईका जिल्लामा झण्डै १५०० रोपनीमा अर्गानिक खेती गरिरहेको बताए।

“हामीले प्रतिस्पर्धानै गर्नु पर्दैन। हाम्रा उत्पादन हातहातमै विक्री भइरहेको छ,” लामाले बताए।

अवसर

आफ्ना अर्गानिक उत्पादनबाट घरेलु बजारमा राम्रो प्रतिकृया प्राप्त भएपछि हाल जर्मनी, अमेरिका, सिङ्गापुर, रुस लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत उत्पादनको करिब ३० प्रतिशत निर्यात गर्ने गरेको लामाको भनाइ छ।

उनीजस्तै अर्गानिक खेती र व्यवसायमा लागेर राम्रो कमाई गरिरहेका काठमाण्डू लगायतका मुख्य शहरहरुमा धेरै उद्यमी तथा कृषकहरु छन्।

अघिल्लो वर्षसम्म सीमित कृषि उत्पादनहरु सामाजिक सञ्जालको माध्यमबाट हप्ताको एकदिनमात्र विक्री वितरण गर्ने तिनकुने स्थित ग्रिन ग्रोथ नामक संस्थाले हाल हप्ताको तीन दिन होम डेलिभरी गर्ने गरेको संस्थाका एकजना संस्थापक सदस्य समिता कपालीले बताईन्।

“माग बढेकाले घर घरै लगेर उत्पादन पुर्‍याइदिने काम हप्ताको तीन चोटी बनाएका छौं,” उनले भनिन्।

अर्गानिक तरकारी बजार

अर्गानिक तरकारी र फलफूल तुलनात्मक रुपमा २० देखि ३० प्रतिशतले महङ्गो हुने गरेको छ।

तर सर्वत्र बजारमा पाइने देख्दा चम्किलो, सर्लक्क परेको र किरा नलागेको विषादीयुक्त उत्पादनलाई भन्दा बढी पैसा अर्गानिक उत्पादनलाई तिर्न अन्कनाउने ग्राहकको कमी भने नभएको ह्वाईट लोटस अर्गानिक कन्सर्नकी प्रबन्ध निर्देशक विमला सुनुवार बताउँछिन्।

“विषादी प्रयोग नभएका तरकारी हेर्दाखेरि राम्रा देखिंदैनन् अनि किरा लागेको देखिन्छन्,” सुनुवारले बताइन्।

वास्तवमा विकट जिल्लामा उत्पादन हुने मौसमी फलफूल र तरकारीको भरपर्दो र सुलभ ढुवानीको व्यवस्था गरिए उपभोक्ताले सस्तो दरमै गुणस्तरयुक्त तरकारी र फलफूल खान पाउने जानकारहरु बताउँछन्।

त्यो नहुञ्जेल कतिपय शहरी वासिन्दाले गरेको जस्तो करेसा वा कौसीमै आफ्नै पौरखले तरकारी उमारेर उपभोग गर्ने विकल्पको प्रयोग हुने क्रम पनि बढ्दो छ।

BBC