प्रकाशित मिति : शुक्रबार, माघ १३, २०७९
सिन्धुली साैगात संवाददाता
सिन्धुली– सामान्यतय जुनारलाई साँधेर वा जुस निकालेर पिउने गरिन्छ । जुनारको अन्य परिकार बजारमा देखिदैँन । तर, ललितपुरमा आयोजना हुन लागेको सिन्धुली जुनार मेलामा जुनारका विविध परिकारहरु प्रदर्शनमा राखिने भएको छ । स्थानीय फलफुल तथा तरकारी बाली प्रवद्र्धन तथा विक्री वितरणमा सक्रिय संस्था ग्रिन ग्रोथ नेपालको आयोजनामा आज माघ १३ गतेदेखि तीनदिनसम्म चल्ने मेलामा जुनारको केकदेखि ब्राण्डिको स्वाद लिन पाईने भएको छ ।
ललितपुरको रैथाने रेष्टुरेन्टमा आयोजना हुन लागेको मेलामा सिन्धुलीमा उत्पादित जुनारबाट बनाइएको विविध परिकार प्रदर्शनमा राखिने ग्रिन ग्रोथका प्रमुख सौरभ ढकालले जानकारी दिनुभयो । मेलामा जुनारको केक, रक्सि, जुस, हट जुस लगायत सातवटा परिकारको स्वाद शशुल्क लिन सकिने ढकालले बताउनुभयो । जुनारबाट बनाईएको परिकारको प्रवद्र्धन गर्नुनै मेला आयोजनाकोे मुख्य उद्धेश्य रहेको आयोजक ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुनारलाई साँधेर खाने वा जुनारको जुस खाने चलन छ । धेरैलाई जुनारबाट विविध परिकारपनि बनाउन सकिन्छ भन्ने जानकारी छैन । मेलामा आउने होटल व्यवसायीलाई जुनारको विविध परिकारको स्वाद चखाएर सिन्धुलीको जुनारको परिकार मेनुमा समावेश गर्न आकर्षित गरिनेछ ।”
मेलामा सिन्धुलीका किसानहरुपनि सहभागित हुने आयोजकले जनाएको छ । मेलाले जुनार किसानसँग प्रत्यक्ष संवाद गर्ने अवसर जुराउने ढकालले बताउनुभयो । कृषिसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिले पनि मेलाको अवलोकन गर्नेहुँदा किसान र सरकारी संयन्त्रबिच सम्बन्ध स्थापनाकालागि सहयोग मिल्ने ढकालको भनाई छ ।
जुनार सुपरजोन परियोजना कार्यान्वयन शाखा सिन्धुली, चिसापानी जुनार उत्पादन सहकारी र स्टोरी साइकलको समन्वयमा हुने सिन्धुली जुनार मेलामा तीन सय देखि छ सय पचास रुपैयासम्मको परिकारहरु राखिने आयोजकले जनाएको छ ।
एक क्लिकमा सबै ‘फेहरिस्त’
विभिन्न जिल्लाका बजारमा बिक्री हुने फलफूलको श्रोत कुन हो भनेर कसरी चिन्ने ? जुम्ला ओखरको लागि, मुस्ताङ स्याउको लागि, फर्पिङको नास्पातीको लागि र सिन्धुलीलाई जुनारको लागि प्रसिद्ध छ । वि.सं. २००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई विशेष कृषि क्षेत्रको रुपमा विकास गरेर सोही अनुसार छुट्टाछुट्टै खेतीलाई प्रोत्साहन गर्न थाल्यो । यही बेलादेखि फलफूलको ठाउँ विशेषको ब्राण्ड विकसित हुँदै आयो । तर, बजारमा आइपुग्ने बेलामा मुस्ताङको भनेर काश्मीरको स्याउ, जुम्लाको भनेर चिनियाँ ओखर र सिन्धुलीको भनेर रामेछाप र डडेलधुराको जुनारले बजार पाउन थालेपछि वास्तविक पकेट क्षेत्रका किसानहरु आफ्नो ब्राण्डको नाममा भएको गलत अभ्यासप्रति चिन्तित हुन थाले । यसलाई बजारमा बेच्दा नक्कली ब्राण्डले बजार पाउने र सक्कली ब्राण्ड पछि पर्ने प्रवृत्तिलाई रोक्न ई–सत्य र ग्रिन ग्रोथ मिलेर एग्रिक्लियर नामक सफ्टवेयर मार्फत् जुनार बिक्रीको सञ्जाल तयार पारिएको छ ।
तीन दिने जुनार मेलामा सो प्रविधिको बारेमा समेत जानकारी दिइने आयोजकले जनाएको छ । जुनारलाई ब्लकचेनमा आधारित प्रविधिसँग जोडेपछि किसान, उपभोक्ता लगायत सबै पक्षलाई फाइदा पुग्ने सरोकारवाला पक्षको दाबी छ । महाभारत क्षेत्रको ८०० देखि १४०० मिटर उचाइमा फलेको जुनारको स्वाद अन्य क्षेत्रको भन्दा निकै मीठो हुन्छ । तर हामीले खाने जुनार यही उचाइमा फलेको जुनार हो भनेर विश्वासिलो तरिकाले पत्ता लगाउन यो प्रविधि सहायकसिद्ध हुने निर्माण पक्षको दाबी छ । यो प्रविधिले सिन्धुलीको जुनार चिन्नको लागि पहिले जस्तो टाउको दुखाउनुपर्ने अवस्थाको अन्त्य भएको ग्रिन ग्रोथका प्रमुख सौरभ ढकाल बताउनुहुन्छ । यो प्रविधिले किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उहाँको दाबी छ ।
जुनारमा रहेको क्युआर कोड स्क्यान गरेपछि जुनार उत्पादन गर्ने किसानको नाम, कति उचाइमा फलेको, कहिले टिपेको, कहिले प्याकेजिङ गरिएको र कति किलोमिटरको यात्रा गरेको जस्ता विवरण समेत आफ्नै मोबाइलबाट थाहा पाउन सकिने ढकाल बताउनुहुन्छ ।