काठमाडौं । तपाईंलाई तरकारी किन्न बाहिर जान समय छैन, वा अल्छि लाग्छ भने चिन्ता नलिनुस् । तपाईंको एक क्लिकमा घर बसी बसी ताजा र अर्गानिक तरकारी भान्छामा आइपुग्छ ।
तपाईंले अनलाइनबाटै आफुलाई चाहिएको तरकारी अर्डर गर्नसक्नुहुन्छ । आजभोलीको व्यस्त जीवनशैलीमा समयको बचत गर्न चाहने र अर्गानिक खानपीन रुचाउनेका लागि यो सुविधा उपयोगी छ ।
विभिन्न जिल्लाका अर्गानिक कृषि फार्मसँगको सहकार्यमा ग्रिनग्रोथले अनलाइनमार्फत तरकारी बेचिरहेको छ । तरकारी मात्र होइन यसले जुम्लाको रातो चामल, मुस्ताङको स्याउ, इलामको चिया अनि सिन्धुलीका ताजा अर्गानिक जुनार समेत अनलाइनबाट अर्डर लिएर ग्राहकलाई होम डेलीभरीसहितको सुविधा दिइरहेको छ । ग्रिनग्रोथले अर्गानिक तरकारी र फलफुल मात्र बिक्री गर्दे आएको छ ।
यसरी आयो यस्तो सोच
आफ्नो व्यापारलाई इन्टरनेट तथा गुगल म्यापमा कसरी राख्न सकिन्छ भनी तालिम दिने क्रममा व्यवसायी सौरभ ढकाल जुम्लामा पुगेका थिए । प्रविधि र सञ्चारलाई जोडेर जीवनलाई कसरी सहज बनाउन सकिन्छ भनेर प्रशिक्षण दिइरहेका ढकाललाई त्यहाँका स्थानीयले व्यवहारमा कसरी उतार्न सकिन्छ ? भन्ने प्रश्न गरेका थिए ।
’सहभागीबाट यस्तो प्रश्न आएपछि सैद्धन्तिक ज्ञान दिइरहेका हाम्रा लागि सच्चिकै च्यालेन्ज थियो,’उनी भन्छन् । स्थानीयले तालिममा त्यहाँ उत्पादित चामलको बजार खोजिदिनुपर्यो भनेका थिए । जुम्लाका किसानले बजार नपाएका बेला नयाँ मोडेलबाट व्यवसाय गर्ने उनले सोचाइ बनाएका थिए ।
यसैक्रममा काठमाडौंमा ल्याइएका चामलका बोरालाई उनीहरुले पहिलोपटक आफ्नो फेसबुक तथा ट्विटरमा फोटो खिचेर प्रचार गरेका थिए । अनलाइनमा राखेको फोटाको माध्यमले चामल बिक्री भएपछि उनलाई अनलाइन व्यापारको गर्ने सोचाइ आएको उनी बताउछन् । सन् २०१५ मा योजना बनाएका उनीहरुले यसलाई गतवर्षदेखि संस्थागतरुपले सञ्चालनमा ल्याएका हुन् ।
कति छन् दैनिक ग्राहक ?
अहिले ग्रीनग्रोथका ३५० जना ग्राहक छन् । सातामा करिब डेढ लाख रुपैयाँ बराबरको अर्गानिक तरकारी, फलफुलको कारोबार भइरहेको ढकालले जानकारी दिए । साता २० देखि ३० जनाको हाराहारीमा उपभोक्ताले ग्रिनग्रोथमा तरकारी लिन अर्डर गर्ने गर्छन् । अहिले ग्रीन ग्रोथले काठमाडौ उपत्यकामा ४ सय ग्राहकलाई तरकारी र फलपुल अनलाइनबाटै आपूर्ति गरिरहेको छ ।
१ हजार रुपैयाँ भन्दा कम मूल्य बराबरको सामानको डेलिभरीका लागि ५० रुपैयाँ तिर्नुपर्छ । सो भन्दा बढीको डेलिभरी निःशुल्क गरिएको छ । ग्रिनग्रोथका सिन्धुपाल्चोक, रसुवा जुम्ला इलाम गरी ९ वटा पार्टनर फार्म छन् । उनले भने, ‘हामीले हरियो तरकारी काभ्रेको पातले गाँउ अर्गा्निक फार्मबाट ल्याउँछौं ।’
यसरी गर्नुपर्छ अर्डर
ग्राहकले वेबसाइटमा गएर आफ्नो रोजाइ अनुसारका सामान खरिद गर्न सक्छन् । अनलाइन फारममा नाम, ठेगाना, फोन नम्बर, इमेल र डेलिभरीका लागि चाहिने दिन सहित भरेर पठाउनुपर्छ ।
ग्रिनग्रोथले सोमबार, बुधबार र शनिबार मात्र सामानको डेलिभरी गर्छ । ताजा तरकारी डेलिभरी गर्नुपर्ने भएकाले हप्तामा तीनदिनमात्र डेलिभरी सुविधा राखेको ढकालले बताए । उनले भने, ’हामीले सामान डेलिभरी गर्नुपूर्व नियमित ग्राहकलाई फोन गरेर अर्डर लिन्छौं । तपाईंले आइतबार अर्डर गर्नुभयो भने सोमबार डेलिभरी हुन्छ तर सोमबार अर्डर गरेमा बुधबार मात्र तरकारी आइपुग्छ ।’
तरकारीको मूल्य
यहाँको तरकारीको मूल्य कालीमाटीको बजार भन्दा महँगो छ तर त्यहाँको तरकारी जस्तै रसायन नभएको ढकाल दाबी गर्छन् । उनले भने, ’हाम्रो अर्गानिक तरकारीलाई बजारको रसायनयुक्त तरकारीलाई दाज्न मिल्दैन । तर बजारका अरु अर्गा्निक तरकारी भन्दा ग्रिनग्रोथको तरकारी सस्तो छ । हाम्रोमा बिचौलिया र संचालन खर्च कम छ ।’
उनले २० प्रतिशत मात्र नाफा लिने गरेको जानकारी दिए । जुम्लाबाट स्याउ आपूर्ति गर्दा काठमाडौसम्म ल्याउदा किसानले नै भाउ तोक्ने गरेको बताउदै उनले त्यसमा २० प्रतिशत थपेर बिक्रीवितरण गरिरहेको जानकारी दिए ।
पैसा कसरी तिर्ने
ग्रिनग्रोथमा तरकारी अर्डर गर्ने बित्तिकै पैसा तिर्नुपर्दैन । नियमित ग्राहकलाई महिनावारीरुपमा बिल तिर्ने व्यवस्था मिलाइएको छ ।
कसरी हुन्छ डेलिभरी
हामीले उपभोक्ताले अनलाइनबाट पठाएको अर्डरको सूचीलाई टिपेर फार्ममा पठाउछौं । फार्म धनीले तरकारीको सूची हेरी तरकारी टिपेर काठमाडौं पठाउँछन् । त्यसलाई डालोमा हालेर ग्राहकमाझ पुर्याउने गरेको ढकालले बताए ।

ग्रीन ग्रोथको टिममा ६ जना छन् । ’तरकारी बाहेक स्टकमा राख्न मिल्ने सामानलाई एकमुष्ट लिएर आउछौं र अर्डर अनुसार तत्काल बिक्री गर्न सक्छौं,’ उनले भने ।
ग्रीन ग्रोथले आपूर्ति गर्ने तरकारी ’अर्गानिक’ नै छन् ?
ग्रिन ग्रोथले तरकारी सप्लाई गर्ने फार्मलाई अर्गा्निक सर्टिफिकेसन नेपाल (ओसिएन)ले अर्गा्निक भएको प्रमाणित गरेको छ । यसरी अर्गानिक प्रमाणपत्र प्राप्त गर्ने ग्रिनग्रोथ नेपालकै पहिलो कम्पनी भएको ढकालको दाबी छ । ग्रिनग्रोथले शत प्रतिशत रसायन रहित तरकारी उत्पादनलाई प्राथमिकतामा राखेको उनले बताए ।
ग्रीन ग्रोथको भावी योजना
ग्रिन ग्रोथले आफ्नो सेवालाई विस्तार गरी उपत्यकाका तीनवटै जिल्लामा आउटलेट खोल्ने योजना बनाएको ढकालले जानकारी दिए । त्यस्तै नयाँ एप निर्माण गरेर एपबाटै लग इन गरेर अर्डर गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । उनले भने, ’माग अनुसार सेवालाई विस्तार गर्दै लैजाने रणनिती छ ।’