Categories
Media Coverage

by तीर्थमाया तामाङ २०७९ माघ १६ गते, १७:१७ बजे प्रकाशित

काठमाडौं- रामेछाप र सिन्धुलीलाई चिनाउने स्वादिष्ट फल हो ‘जुनार’। कुन-कुन तरिकाले तपाईंले खानुभएको छ? बोक्रा ताछेर, यत्तिकै सादा या पिरो नुन खुर्सानीसँग। कहिलेकाहीं साँधेर पनि होला। बढीमा बढी जुनारको रातो जुससम्म खानु भएको होला ! के तपाईंलाई जुनारको केक, हट जुसलगायत अन्य विभिन्‍न भेराइटीको स्वाद लिन मन छ ? यदि छ भने जानुहोस् ‘रैथाने’ मा।

हो, कुपन्डोलमा रहेको रैथाने रेस्टुराँमा अब सिन्धुलीको जुनारका विभिन्‍न नयाँ स्वाद लिन सकिन्छ। ग्रिनग्रोथ नेपालले नयाँ प्रविधिको प्रयोगसँगै जुनारको नयाँ स्वाद चखाउने प्रयास गरेको छ त्यहाँ।

ग्रिनग्रोथ नेपाल, स्टोरी साइकल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुली र रैथानेको संयुक्त आयोजनामा रैथानेमा तीन दिन सञ्‍चालन भएको जुनार मेलाले दुई नयाँ विषय अगाडि सारेको ग्रिनग्रोथका सञ्‍चालक सौरभ ढकाल बताउँछन्। ती हुन्, क्यूआर कोडबाट ट्रयाक र रैथानेमा जुनारको नयाँ स्वाद।

शुरुमा कुरा गरौं क्यूआर कोडको। यो क्यूआर कोड अन्य डिजिटल माध्यममा स्क्यान गरेर त्यहाँ भएका जानकारी हेर्न सकिनेजस्तै हो। यो क्यूआर कोड स्क्यान गरेपछि भने तपाईंले किन्दै गरेको र खाँदै गरेको जुनार सिन्धुलीकै हो कि होइन, तपाईंले खरिद गरेको जुनारमा कहिले मल हालेको, कहिले टिपेको, कति दूरी पार गरेर ल्याइएको होलगायत विस्तृत जानकारी पाइन्छ। त्यति मात्रै कहाँ हो र ! तपाईंले ती जुनार उत्पादन गरेका कृषकको बारेमा जानकारी पाउनुका साथै सजिलै भेटघाट पनि गर्न सक्नु हुनेछ।

अर्को, जुनारको नयाँ स्वाद।

अब रैथानेमा जुनसुकै समयमा जुनारको नयाँ स्वाद लिन सकिन्छ। रैथाने यस्तो रेस्टुराँ हो, जहाँ तपाईंले नेपालका विभिन्‍न जातजातिका रैथाने खानेकुराको स्वाद लिन सक्नु हुन्छ। त्यसमा थपिएको छ, जुनारको नयाँ भेराइटी। जुनार सलाद, क्रेप सुजेट, जुनारको केकको स्वाद चखाउन रैथाने पर्खिरहेको छ। ड्रिङक्समा फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद लिन सकिनेछ।

यी दुई कुराका अतिरिक्त उत्पादक किसानलाई जुनारको मार्केटिङ बढ्दो छ भन्‍ने अनुभव गराउने उद्देश्यले मेलाको आयोजना गरिएको ग्रिनग्रोथ सञ्‍चालक ढकाल बताउँछन्। ‘क्यूआर कोड स्क्यान गरेर हेर्दा ग्राहकले उसले खाएको फलबारे विस्तृत जानकारी लिन सक्ने भयो। त्यति मात्रै होइन, कृषि बीमामा आबद्ध हुन कृषकलाई क्यूआर कोडमा समावेश गरिएको जानकारीले धेरै मद्दत पुग्‍नेछ,’ उनी भन्छन्, ‘जुनारको थप परिकार बनाउँदा यसको भ्यालु बढ्ने भयो, जसले गर्दा जुनारलाई बेच्‍न हतार गर्नु परेन। जेठ-असारसम्म पनि स्टोर गरेर राख्‍न सकिन्छ।’

ग्रिनग्रोथले सिन्धुलीको गोलञ्‍जोर गाउँपालिकाको चिसापानीका कृषकले उत्पादन गरेका जुनार विक्री गर्दै आएको छ। चिसापानीमा जुनार उत्पादन गर्दै आएका १० देखि १५ कृषकलाई यो प्रविधिमा समावेश गरिएको छ। विस्तारै अन्य कृषकलाई समेट्दै जाने योजना बनाएको छ, ग्रिनग्रोथले।

सिन्धुलीका ९ स्थानीय तहका अधिकांश क्षेत्रमा जुनार खेती गरिन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुलीका अनुसार जुनार सुपर जोनअन्र्तगत सूचीकृत भएका लाभग्राही २९८ कृषकले १ हजार ४५ हेक्टरमा जुनार खेती गरिरहेका छन्। सिन्धुलीका ४ स्थानीय तह सुनकोसी-७ मझुवा, कमलामाई-३ जलकन्या, गोलञ्‍जोर-१ देखि ६ सम्म र तीनपाटन-७ तोश्रामखोलामा यो जोन सञ्‍चालनमा छ।

अमिलो जातको फलफूल सिट्रस वर्गमा पर्ने विशेष रंग, आकार र विशेषता भएको विश्‍वमै आफ्नो छुट्टै नामले परिचित नेपालको एक मात्र मौलिक फल हो, जुनार। जुनारलाई अंग्रेजीमा स्विट अरेन्ज वा टाइट स्किन अरेन्ज भनिन्छ। यसको वानस्पतिक नाम सिट्रस साइनेन्सिस हो। सुन्तला जात भन्‍नाले अमिलो वर्गका फलफूलहरूको समूहलाई जनाउँछ।

जसको फलको बोक्रामा तेल भरिएका ग्रन्थीहरू, फल भित्र केस्रा र केस्राभित्र स-साना रसले भरिएका थैलीहरू हुन्छन्। नेपालमा खेती गरिने मुख्य सुन्तला जात फलफूलहरूमा सुन्तला, जुनार र कागती हुन् भने अन्यमा निबुवा, भोगटे, बिमिरो, ज्यामिर पर्छन्। सुन्तला जात फलफूलहरू रुटेसी परिवारमा पर्छन्। र, वानूपस्तिक भाषामा यिनीहरूलाई सिट्रस स्पेसिज भन्‍ने गरिन्छ।

रामेछाप र सिन्धुलीमा अत्यधिक फल्ने जुनार अहिले देशका विभिन्‍न भागमा फैलिएको छ। धनकुटा, बैतडी, डोटी, डडेलधुरा, ओखलढुंगा, लमजुङ, पाल्पा र रुकुममा मुख्यगरी जुनार खेती हुने गर्छ।

जुनार नाम कसरी रह्यो

परापूर्वकालदेखि नै सिन्धुलीमा हायू जातिको बसोबास थियो, जुन अद्यापि छँदैछ। सोही जातिका एकजना मझिया थिए, कहरसिंह हायू। उनलाई पुस्ते हायू पनि भनिन्थ्यो। कहरसिंह हायू मुद्दाको सिलसिलामा एकपटक काठमाडौं गएका थिए। त्यतिबेला मुख्तियार थिए, भीमशमशेर र श्री ३ महाराज चन्द्रशम्शेर राणा। त्यसबेला नेपालको स्थानीय प्रशासन हेर्ने थरी, जिम्मावाल, मुखिया, जमिनदार, चौधरी, अमालीहरू काठमाडौं आउँदा मुख्तियारको चाकडीमा जाने चलन थियो। देशभरबाट आएका यस्ता चाकडीदारहरू मुख्तियारको ढोकाको अघिल्तिर चौरमा दिनभर बस्थे। मुख्तियार यसो बाहिर निस्केका बेला लाम लागेर स्वस्ती र सलाम गर्थे।

एक दिन मुख्तियारको दरबारमा आएको रसिलो कोसेली चौरमा बसेका चाकडीदारलाई बाँडिएछ। तर, त्यस्तो कोसेली चौरमा बसेर खान पाउने ठूलाबडा नै हुन्थे। विसं १९८५-८६ सालतिरको हिउँदयाममा आठपहरियाले चाकडीदारको भीडमा एउटा फल ल्याएर दियो। त्यो फल खुबै मिठो मानीमानी खाए। मझिया कहरसिंहले एक केस्रा पनि पाएनन्।

फल खाएर चौरमा फालिएको बिजु (गेडा) कहरसिंहले घुमीघुमी टिपेर गोजीमा राखे। उनले त्यो गेडालाई घरमा लगी रोपे। उनको बगैंचामा सुन्तला, ज्यामिर, चाक्सी, निबुवा, कागतीका बिरुवा प्रशस्त थिए। त्यहीँ लगेर उनले खुबै जतनसाथ बिजु रोपे। ४-५ वर्षपछि विरुवामा फल लाग्यो। तर, त्यो फलको नाम के हो भन्‍ने थाहा थिएन।

एक दिन घरमा जिम्मावाल आएका वेला कहरसिंहले नयाँ फल टक्र्याएर ‘ज्युनार होस्’ भने। स्वादिलो फल चाख्दै जिम्मावालले यसको नाम के हो भनेर सोधे ? त्यही बेला टुप्लुक्क आइपुगेका युवकले भने ‘जुधार’। ती युवक रामेछाप जुधारबाट आएका थिए। कहाँबाट आएको भनेर सोधेको जस्तो लागेर ती युवकले ‘जुधार’ भनेका थिए। तर, ती जिम्मावालले सुने, फलको नाम ‘जुनार’। उनले भने, ‘मिठो रहेछ जुनार।’ कहरसिंहले सोचे यो फलको नाम नै ‘जुनार’। र, यसको नाम जुनार रहन गएको लोकोक्ति यस्तै छ। र, यो नेपालमै नौलो फलको रूपमा विकास भएको मानिन्छ।

Nepali Headline