Categories
Media Coverage

मेनुक्श माघ २०, २०७८

काठमाडौं । स्वस्थ खाना, स्वस्थ जीवनको एक महत्वपूर्ण आधार हो । यद्यपि नेपालको सन्दर्भमा खानेकुराको ताजापनलाई लिएर अधिकांश उपभोक्ता र उत्पादक दुवै पक्ष त्यति गम्भीर देखिँदैनन् ।

स्वस्थ खानाको ताजापन मापन गर्ने प्रविधिलाई आत्मसात गर्नु त टाढाको कुरा । यस्तोमा, सन् २०१५ अर्थात् भूकम्पपछि सुरु भएको ग्रीन ग्रोथको अवधारणाले अहिले खाद्यान्नको किनबेचलाई समेत प्रविधिमैत्री बनाइरहेको छ । जसले स्थापनाकालदेखि नै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी स्थानीय उत्पादनलाई बढावा दिँदै आएको छ ।

बजार अवस्थालाई अध्ययन गरी समस्याको हल खोज्न सौरभ ढकाल, दिपिका ज्ञवाली, समिता कपाली र निश्चल पोखरेल मिलेर अनुसन्धानमा लागे । बजार र व्यवस्थापनको राम्रो अनुगमन गरेपछि प्रविधि र प्रकृतिलाई सँगै लाने उद्देश्यसहित उनीहरूले सन् २०१६ को अक्टोबरमा कम्पनी आधिकारिक रुपमा दर्ता गरेर सञ्चालनमा ल्याए ।

कम्पनीका संस्थापक सौरभ ढकाल भन्छन्, ‘नेपालमा खानेकुरालाई लिएर धेरैजसाे उपभाेक्ता खासै सतर्क भएको पाइँदैन । बजार म्यनिपुलेसनको शिकार भएको छ । यहाँ कुन खानेकुरा साँच्चै राम्रो हो, कुन चाहिँ पौष्टिक छ र स्वस्थकर छ भन्ने विषयमा उपभोक्तालाई भ्रममा राख्ने गरिएको छ ।’

यस्तो प्रवृतिलाई चिर्नकै लागि ग्रीन ग्रोथको अवधारणा ल्याइएकाे उनकाे भनाइ छ । व्यवसायलाई डिजिटाइज गर्दैगर्दा ईकमर्स प्लेटफर्महरू राम्रै फस्टाएका छन् । तर उल्लेख्य रुपमा विश्वास भने जित्न सकेको अवस्था छैन ।

त्यसैमाथि कोरोना महामारीबाट हरेक क्षेत्र प्रभावित भइरहँदा, ग्रीन ग्रोथ पनि यसको चपेटामा पर्‍याे । पहिलो चरणको निषेधाज्ञा ताका विशेषतः खाद्यान्न लगायत अन्य दैनिक प्रयोगका सामानको अभाव हुन थालेको थियो ।

उपभोक्ताको माग बढ्न थालेपछि व्यवसायी र उपभोक्ताबीच जोड्ने ईकमर्स एक माध्यम त बन्यो । यद्यपि सरकारले ढुवानीमा समयसीमा तोकिदिएपछि भने केही आत्तिएका थिए । 

ढकाल भन्छन्, ‘उपभोक्तासँग निरन्तर सम्पर्कमा रहेर सामान डेलिभरी गर्ने गरेको भएता पनि लामो समय उही अवस्था दोहोरिएको भए हामीलाई निरन्तरता दिन हम्मेहम्मे नै पर्थ्यो । राम्रै भयो, अवस्था विस्तारै सामान्य हुँदै गयो ।’

उपभोक्ताको विश्वासलाई अझ बलियो बनाउने जिम्मेवारी थपियो । जसका लागि कम्पनीले नयाँ प्रविधिको प्रयोग गर्ने सोच अगाडि बढायो ।

‘विगत एक वर्षदेखि ग्रीन ग्रोथमार्फत बिक्री हुने फलफूलमा मात्र यो सेवा दिइरहेका छौँ, जसका लागि सफ्टवेयरद्वारा फलफूलको रुखलाई ट्रयाक गरिन्छ ।’ 

ढकाल भन्छन्, ‘विस्तारै खाद्यान्न र तरकारी बिक्री–वितरणमा पनि यो प्रविधि प्रयोगको प्रयास भइरहेको छ । कृषकले बिउ छर्दादेखिको सम्पूर्ण जानकारी तथा विवरण सफ्टवेयरमा समेट्नुपर्ने हुँदा दैनिक उपभोग्य खाद्यान्नमा प्रविधिको नियमित परीक्षणमा भने अझै केही समय थप लाग्छ ।’

अनलाइन व्यवसायलाई अझ प्रभावकारी बनाउन र उपभोक्तालाई सचेत गराउन क्यूआर कोड प्रविधि ल्याएकाे उनकाे भनाइ छ ।

विकसित देशमा यस्तो प्रविधि सामान्य भए तापनि नेपालको सन्दर्भमा भने यो प्रयास नितान्त नयाँ भएको ढकालको दावी छ ।

‘फुड ट्र्याकिङ’ परीक्षणका क्रममा रहेको र आगामी दिनमा प्रभावकारी बन्दै गएमा यसलाई कृषकबीच जोड्ने कम्पनीको योजना रहेको छ ।

‘यस प्रविधिबाट उपभोक्ता र कृषकबीच पारदर्शी रूपमा कारोबार हुन्छ,’ उनी भन्छन्, ‘यस्तो प्रविधिले अनलाइन व्यवसायलाई विश्वसनीय बनाउँछ । यसबारे उपभोक्ताले पनि सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।’

‘ग्रीन ग्रोथ’ ले बिक्री गर्ने फलफूलका कार्टुनमा एउटा ‘क्युआर कोड’ टाँसिएको हुन्छ । त्यसलाई मोबाइलबाट स्क्यान गर्दा कार्टुनभित्रको फलफूलसम्बन्धी विवरण हेर्न सकिन्छ ।

बजारमा बेचिने फलफूलका सम्बन्धमा ग्राहकलाई वास्तविक जानकारी दिन व्यवसायी तथा कृषकले ‘फुड ट्र्याकिङ सफ्टवेयर’ मा काम गर्नुपर्छ ।

यस सफ्टवेयरमा कृषकले आफूले लगाएको बालीबारे सुरुदेखि बजारमा पठाउँदा सम्मको विवरण अपडेट गर्न सक्छन् । के–कस्तो बाली कहाँ र कसरी तयार गरियो भन्नेबारे सम्पूर्ण जानकारी अपडेट हुन्छ ।

उपभोक्ताले स्क्यान गर्दा विवरण हेर्न पाउने सह-संस्थापक ढकाल बताउँछन् ।

‘बजारमा सिन्धुलीको जुनारको माग धेरै हुन्छ, तर व्यवसायीले झुक्याएर अन्तैको जुनार बिक्री गर्छन्,’ ढकाल भन्छन्, ‘क्यूआर कोड स्क्यान गरेर उपभोक्ताले फलफूलको उत्पादन, ढुवानीमा लागेको समयका बारेमा थाहा पाउन सक्छन् । जसले गर्दा डेलिभरी शुल्कमा समेत टेवा पुग्ने गरेको छ ।’

यो सेवा अहिले परीक्षणको रुपमा केही ठूला फार्मका कृषक मिलेर सञ्चालन गरिरहेको ढकालले बताए ।

‘अहिले सप्तरी, सिन्धुली, काभ्रे, माथिल्लाे मुस्ताङ लगायतका १२ वटा फलफूल फर्म ग्रीन ग्रोथमा जोडिएका छन् । हालसम्म फुड ट्र्याकिङ सफ्टवेयरले दस्तावेज गर्ने काम मात्र गरिरहेको छ,’  उनी भन्छन्, ‘ब्लकचेन भने गरिएको छैन ।’ 

विस्तारै डिजिटल मुद्राको प्रयोगमा जोडिनका लागि समेत क्यूआर कोडको प्रयोग सुरू गरिएको उनले बताए । यसमा ब्लकचेन भन्नाले फलफूल व्यवसायीले एकपटक अपडेट गरेको विवरणलाई पुनः सच्याउन नमिल्ने गरी राखिने प्रविधिलाई बुझिन्छ ।

‘ब्लकचेन गरेपछि कृषक तथा व्यवसायी कसैले पनि एकपटक अपडेट गरेको मिति तथा तथ्यांक पुनः हेरफेर गर्न मिल्दैन,’ ढकाल भन्छन्, ‘अहिले हामीले नै कृषकसँग मिलेर अनलाइनमा अपडेट गरेका छौँ । कृषकलाई प्रविधिबारे सिकाउँदै पनि छौँ ।’

यो प्रविधि खाद्य गुणस्तर हेर्ने निकाय तथा अर्गानिक प्रमाणपत्र दिने संस्थाका लागि विश्वसनीय र प्रभावकारी हुने उनले बताए ।

‘यसलाई विस्तारै सबै कृषकसँग जोड्ने योजनामा हामी छौँ,’ उनले भने, ‘यसले उपभोक्ता र कृषकलाई सहज बनाउने काम गर्छ ।’

विशेषतः ‘फुड ट्र्याकिङ सफ्टवेयर’ अझ धेरै प्रभावकारी रहेको ढकाल बताउँछन् ।

‘अन्य देशमा चिया–कफी खाएपछि ग्राहकले तिरेको रकमबाट केही अंश कृषकको खातामा जाने व्यवस्था हुन्छ,’ ढकाल भन्छन्, ‘नेपालमा त्यस्तो प्रविधि भित्र्याउन सकिएको छैन ।’

करिब चार लाखको लगानीबाट सुरु भएको कम्पनीले अहिले ११ जनालाई नियमित रोजगारी दिइरहेको छ ।

साथै काठमाडौं, सिन्धुली, हटौँडा, लालबन्दी र लहानका उपभोक्ता र फार्मर जोडिएका छन् । जसमा ११ सयभन्दा धेरै सेवाग्राहीलाई नियमित सेवा उपलब्ध गराइरहेको छ ।

उपभोक्ताले कम्पनीको वेब प्लेर्टफर्म, फेसबुक, इन्स्टाग्राम, ट्वीटर र फोनकल मार्फत पनि  ग्रीन ग्रोथमा जोडिन सकिने ढकालले बताए ।

अहिलेसम्म कम्पनीले साना तथा ठूला गरी १२ वटा फार्मको उत्पादनलाई ग्राहकसम्म पुर्‍याएकाे छ ।

ढकाल भन्छन्, ‘हामीले घरेलु उत्पादनलाई पनि ठाउँ दिने गरेका छौं । साथै उत्पादनलाई कसरी व्यवसायको रुप दिन सकिन्छ भन्ने विषयमा समेत जानकारी दिन्छौं । जसले गर्दा मौसमी र घरेलु उत्पादनहरू खेर जान पाउँदैनन् ।’

‘नेपालमा उत्पादित प्रडक्टलाई पोष्ट हार्भेष्ट गर्ने काम नै भएको छैन । सबै उत्पादनलाई एकै समयमा बजारमा पुर्‍याउन नसकेको खण्डमा पोष्ट हार्भेष्ट गरी फरक उत्पादनको रुपमा बजारमा लाग सकिन्छ । उदाहरणका लागि आँपको अचार, फलफूलको जुस र रक्सी बनाउने लगायतका काम गर्न सकिन्छ,’ उनले थपे ।

आगामी दिनमा स्थानीय उत्पादनलाई देशव्यापीरुपमा लैजानका लागि काम गर्ने कम्पनीको योजना छ । साथै क्यूआर कोड तथा फुड ट्रयाकिङमा जोडिन चाहने संस्थालाई समेत समेटेर लैजाने लक्ष्य रहेको छ ।

TechPana